काठमाडौं, असार १०ः नेपाल प्रहरीमा आजको १४ दिन पछि नयाँ नेतृत्व आउँने भएको छ । यस अघि नेतृत्व लिनका लागि जसरी होडबाजी चल्ने गरेको थियो यस पटक भने त्यस्तो होडबाजी भएको छैन ।
आईजीपीका दाबेदार शैलेश थापा र हरी पाल जो सुकै कमाण्डर भए पनि मिलेर अघि बढ्ने सहमतिका साथ लागी परेका छन् । यस अघिका आकांक्षीहरुले जस्तो एक अर्कालाई हिलो छ्याप्ने र मिडियाबाजी गर्ने काम पनि यी दुई अधिकृतले आजका दिनसम्म गरेका छैनन् ।
एक नम्बरमा अतिरिक्त महानिरीक्षकमा बढुवा भएका शैलेश थापा संगठन भित्रका इमान्दार र बौद्धिक अधिकृतका रुपमा परिचित छन् भने हरि पाल चेन अफ कमाण्डलाई दर्विलो ढंगले कायम राख्न सक्ने अधिकृतका रुपमा चिनिन्छ ।
अहिलेको जस्तो स्वच्छ प्रतिष्पर्धा २०४८ साल पछि देख्न पाइएको थिएन । सत्ये सेवा सुरक्षणमको नारा बोकेको नेपाल प्रहरीमा सबै भन्दा फोहोरी खेल प्रकाश अर्याल आइजी हुँदा भएको थियो । त्यसबेला उपेन्द्रकान्त अर्यालले आफ्नो खेललाई सफल बनाएका थिए ।
सरकारले निर्णय गरेर पनि जयबहादुर चन्द आइजीपी बन्नबाट रोकिएका थिए । त्यसबेला घृणीत खेललाई सम्झने हो भने वर्तमान प्रतिष्पर्धी थापा र पालले बिग्रीएको नेपाल प्रहरीको साँखलाई ट्र्याकमा ल्याउन खोजेको देखिन्छ ।
वर्तमान आइजी ठाकुर ज्ञवाली ३० वर्षे सेवा हदका कारण आगामी असार २४ गते अवकाश हुँदै छन् । आइजीले अवकाश पाउन एक दिन अगाडि नयाँ आइजीको नियुक्त हुने चर्चा पनि नक्सालमा चल्ने गरेको छ ।
नयाँ बन्ने आइजीका लागि दुबै आइजी क्षमतावान भएकोले गृहमन्त्रीको मन जित्न सक्ने आइजी हुने र अर्को सहयोगी हुनेछन् ।
नेपाल प्रहरीको २८औं आइजी बन्ने दुई प्रतिष्पर्धी मध्ये एक जो सुकै बने पनि बिग्रीएको नेपाल प्रहरीको छबिलाई सुधार गर्नका लागि काँधमा काँध मिलाएर लाग्ने छन् भन्ने विश्वास नेपाल प्रहरीको भलो चाहने अधिकृत र कर्मचारीले गरेका छन् ।