जग्गा हिनामिना गर्ने न्यायाधीश सुटुक्क सरुवा

रिपोर्ट नेपाल | 2020 Jun 23 | 08:44 am 1625

काठमाडौं, असार ९ः भूमाफियाको मिलेमतोमा सरकारी वनको जग्गा व्यक्तिको नाममा दर्ता गर्न आदेश दिएका न्यायाधीश अर्जुन कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सुटुक्क काज सरुवा गरेका छन् ।

चन्द्रागिरिको ९२ रोपनी सार्वजनिक जग्गा वादीका नाममा स्रेस्ता कायम गराउनू भन्ने न्यायाधीश कोइरालाको आदेशका आधारमा मालपोत कार्यालय कलंकीले सुयल हाउजिङका नाममा स्रेस्ता कायम गरेको थियो । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न आदेश दिएपछि विवादमा मुछिएका न्यायाधीश कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायपरिषद्लाई पत्र लेखेर छानबिन गर्न भनेको थियो ।

अख्तियारका पत्रका आधारमा न्यायपरिषद् तानेर छानबिनको चरणमा रहेका न्यायाधीश कोइरालालाई प्रधानन्यायाधीश राणाले गत फागुनमै सुनसरी जिल्ला अदालतमा सरुवा गरेका छन् । उनीविरुद्ध परेको उजुरीमा छानबिन गर्न सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । न्यायाधीश केसी नेतृत्वको समितिले छानबिनको प्रतिवेदन सार्वजनिक नगर्दै उनलाई प्रधानन्यायाधीश राणाले उनलाई सुनसरी जिल्ला अदालतमा काज सरुवा गरेका हुन् ।

चन्द्रागिरि नगरपालिका पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वनको जग्गा व्यक्तिको नाममा दर्ता गर्न न्यायाधीश कोइरालाले सहयोग गरेको अभियोग छ । चन्द्रागिरिको ९२ रोपनी सार्वजनिक जग्गा वादीका नाममा स्रेस्ता कायम गराउनू भन्ने न्यायाधीश कोइरालाको आदेशका आधारमा मालपोत कार्यालय कलंकीले सुयल हाउजिङका नाममा स्रेस्ता कायम गरेको थियो । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता सँगै अदालतबाट न्यायाधीश कोइरालाले फुकुवा गर्न सहयोग गरेको खुलेपछि सो विषय अख्तियारले अनुसन्धान गरेको थियो । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.