काठमाडौं, असार ९ः नेपालले आफ्नो भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गरेकोमा लगातार विरोधमा अभिव्यक्ति दिएर विवादमा आएका सांसद सरिता गिरीसँग पार्टीले स्पष्टीकरण सोधेको छ ।
नयाँ नक्साका आधारमा निशान छाप परिमार्जन गर्नका लागि सरकारले संविधान संशोधनका लागि सरकारले दर्ता गराएको विधेयकको विरोधमा उभिएका सांसद गिरीलाई सात दिनभित्र आफ्नो स्पष्टीकरण दिन पार्टीले निर्देशन दिएको पार्टीका महासचिव रामसहाय यादवले बताए ।
सांसद गिरीको विषयमा छलफल गर्न सोमबार पदाधिकारीको बैठक बसेको थियो । बैठकले सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको उनले बताए । उनको स्पष्टीकरण आएपछि कारबाही गर्ने नगर्ने विषयमा पार्टीले थप निर्णय लिने उनले बताए ।
सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर जारी गरेको नेपालको नयाँ राजनीतिक नक्सा संविधानको अनुसूचीमा समावेश गर्न संसदमा पेश गरेको संविधान संशोधन विद्येयकविरुद्ध गिरीले संशोधन दर्ता गराएका थिए । त्यसलगत्तै समाजवादीको संसदीय दलको बैठकले उनीलाई संसोधन फिर्ता लिन निर्देशन दिएको थियो तर उनीले आफ्नो संसोधन फिर्ता लिएकी थिइनन् र, संसद बैठक बहिष्कार गरेकी थिइन ।
समाजवादी पार्टी स्रोतका अनुसार स्पष्टीकरण चिक्तबुझ्दो नआए उनीलाई संसदबाट कारबाही गर्ने निर्णय छ । गिरी समानुपातिक सांसद हुन् । पार्टीले चाहेको अवस्थामा प्रक्रिया पुर्याएर उनीलाई फिर्ता बोलाउन सक्ने जनाएको छ ।
त्यसैगरी, पदाधिकारी बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाली पुरुषसँग विदेशी महिलाले बिहे गरेको सात वर्षपछि मात्र वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न सकिने व्यवस्था गर्न गरेको निर्णयको विरोध गरेको छ । नागरिकता प्राप्ति हाल रहेको व्यवस्थालाई कायम राख्न पार्टीले आग्रह पनि गरेको छ ।