पहिरोले गाडी बगाउँदा तीन जनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jun 23 | 07:22 am 1841

पाल्पा, असार ९ः सोमबार तानसेन–रिडी सडकखण्डको सम्मोबारीमा पहिरोले गाडी बगाउँदा तीन जनाको मृत्यु भएको छ ।

आइतबार रातिदेखि लगातार परेको अविरल वर्षाका कारण खसेको पहिरोले तानसेन नगरपालिका–११ सम्मोबारी नजिकै सडकमा रोकिएका चार सवारी बगाउँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै अर्को एक जनाको उपचारको क्रममा मिसन अस्पतालमा मृत्यु भएको हो ।

पहिरोका कारण सडकमा जाममा रोकेर राखिएका लु १ च ७०४३ नम्वर पिकअप जीप, लु १ प १९२८ नम्वरको पानी ट्यांकर, लु २ ख १३७६ नम्वरको ट्रक सडकदेखि तल खसेको र लु १ च ७०११ नम्वरको कार बाटोमै पुरिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

पहिरोले गाडी बगाएको भन्ने खबर पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो ।

सुरक्षा निकायका व्यक्तिहरु राति अवेरसम्म उद्दार कार्यमा खटिएपनि माथिबाट पहिरो खसिरहेको र पानी परिरहेका कारण उद्दारमा कठिनाइ भएको छ । पहिरोमा अन्य व्यक्तिहरु पनि रहन सक्ने प्रहरीको अनुमान रहेको छ । थप विवरण आउँन भने बाँकी नै रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.