एक नव जोडीले गरे क्वारेन्टाइनमै विवाह

रिपोर्ट नेपाल | 2020 Jun 16 | 11:01 am 1830

दाङ, असार २ः वडाध्यक्षकाे रोहबरमा क्वारेन्टाइनमा रहेका एक जोडीले क्वारेन्टाइनमै विवाह गरेका छन्। घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको बेलघारी क्वारेन्टाइनमा बसेका अन्तरजातीय ती जाेडीकाे विवाह वडाध्यक्ष भरत अर्यालले गराइदिएका हुन्।

घाेराही उपमहानगरपालिका वडा नम्बर १८ का समीर वली र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ की सीता चाैधरीबीच क्वारेन्टाइनमै अन्तरजातीय विवाह भएकाे हाे ।

भारतको दिल्लीबाट आएर क्वारेन्टाइनमा बसेका उनीहरू प्रेम सम्बन्धमा रहेकाले जाेडीकै आग्रहमा विवाह गरिदिएको वडाध्यक्ष अर्यालले बताए।

‘ भारतबाट आउँदा खेरी नै उनीहरू प्रेम सम्बन्धमा रहेछन् त्यसैले घरसल्लाहमा जेठ ३२ गते वरपीपल साक्षी राखेर मैले सामान्य मन्त्रोच्चारण गरेर विवाह गराइदिएको हुँ,’ वडाध्यक्ष अर्यालले भने।

उनले पीसीआर परिक्षण रिपोर्ट आएपछि विवाह गर्न सुझाए पनि आफूहरूको धर्म संस्कारमा ९ महिनामा विवाह गर्न नमिल्ने बताएपछि जेठ ३२ गते नै सामान्य ढंगले विवाह गराएको बताए।

करिब २४ दिन क्वारेन्टाइनमा अलग्गै बसेका उनीहरूको रिपोर्ट विवाह गरेकाे एक दिनपछि असार १ आएको छ।

उक्त क्वारेन्टाइनमा उनीहरूसँगै बसेका अन्य ४ जनाको रिपोर्ट पोजिटिभ आए पनि ती नवविवाहित जोडीको रिपोर्ट भने नेगेटिभ आएको छ। रिपोर्ट नेगटिभ आएकाले घरमा अलग्गै एक सातासम्म सेल्फ क्वारेन्टाइनमा बस्ने गरी डिस्चार्ज गरिएको वडाध्यक्ष अर्यालले बताए।

उनले एक साता अलग्गै बसिसकेपछि मात्रै एकअर्काको सम्पर्क आउन दिने गरी पठाइएको जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.