संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतले पारित

रिपोर्ट नेपाल | 2020 Jun 13 | 06:17 pm 1864

काठमाडाैं, जेठ ३१ः नेपालको संविधानको दोस्रो संशोधन विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतले पारित भएको छ । शनिबार प्रतिनिधि सभा बैठकमा विधेयकमाथिको दफावार छलफलपछि विधेयक भएको मतदानबाट सर्वसम्मतले पारित भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गर्दै प्रस्तावना संविधानको अभिन्न अंग बनेको घोषणा गरेका थिए ।

बैठकमा २ सय ५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन् । यससँगै संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख सापकोटाले घोषणा गरे ।

सभामुख सापकोटाले संशोधन विधेयक पारित भएको घोषणा गर्दा संसदमा लामो समय करतल ध्वनी गुञ्जिएको थियो भने नेताहरुले एक आपसमा खुसी बाड्दै बधाई आदान प्रदान गरेका थिए ।

सरकारले जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ९ गते नै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।

सदनमा प्रतिनिधित्व गर्ने सबै मुख्य दल र अन्य दलहरू पनि संशोधन विधेयकको पक्षमा उभिएकोले पनि संसदमा अभूतपूर्व एकता देखिएको थियो ।

संविधानको अनुसूची ३ मा रहेको निशाना छापमा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेतको क्षेत्र समेटेर सरकारले अद्यावधिक गरेको प्रशासनिक र राजनीतिक नक्सा समावेश गर्नका लागि यो संशोधन गरिएको हो ।

संशोधन विधेयक पारित भएपछि नेपालले जारी गरेको नयाँ नक्साले पूर्णतासहित औपचारिकता पाउने भएको छ । यसैगरी निशाना छापमा पनि नयाँ नक्सा समावेश गरिने छ ।

विधेयकमाथिको दफावार छलफलमा बोल्ने सबै दलका नेता र सांसदहरुले राष्ट्रिय एकताको बारेमा आआफ्नो धारणा राख्दै यो एकता देश र जनताका लागि अटुट रहुन पर्ने धारणा राखेका थिए ।

प्रतिनिधिसभामा सर्वसम्मतले विधेयक पारित भएपछि संघीय संसदमा मात्र नभइ देशव्यापीरुपमा खुसीको सञ्चार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.