भावनामा निसास्सीएको कलम

रिपोर्ट नेपाल | 2020 Jun 12 | 05:00 pm 5316

  • यमबहादुर अर्याल (तिलोत्तमा ३, जानकीनगर, रुपन्देही)

सम्झनाहरु घर, वरपर, सेरोफेरोका हरेक वस्तु अनि पाल्तु जीवहरुमा पनि लुकेर बसेका हुँदो रहेछन् । राष्ट्रकवि माधव घिमिरे आफ्नो शोक काव्य गौरीमा लेख्छन्, आँसुले हृदय धुन्छ रे । पत्नी वियोगको मेरो पीडाले मेरो घरमा पालेको कुकुरभित्र उनको छाँया देख्छ, माया देख्छ । किनकी मेरो घरको कुकुरप्रति मेरी पत्नीको माया थियो, ख्याल थियो अनि लगानी थियो । मेरी पत्नीको यादमा उक्त कुकुर पनि शोकाकुल छ जस्तो लाग्छ । उसले मेरो घरका सदस्यमध्ये सबैभन्दा धेरै माया पाउने र उसले पनि माया गर्ने पात्र थिइन् मेरी पत्नी ।

उक्त कुकुरको विषयवस्तु बनाएर चल्यो आज मेरो कलम ।

जुजु मेरो घरको पालुवा पोथी कुकुर हो, उसको नाम हामीले नै राखेको । ऊ बोल्न सक्तिन तर स्मरण शक्ति मान्छेकाे भन्दा तेज छ । परिवारजन आफन्तजन र छरछिमेकजन जो मेरो घरमा आउने जाने गर्नु हुन्छ उहाँहरु सबैलाई चिन्ने र पुच्छर हल्लाएर स्वागत र माया देखाउने गर्छे ।

कलियुगमा मान्छेमा स्वार्थीपन धेरै पलायो तापनि पाल्तु जनावरले धर्म निभाउँदैछन् । सायद मायाको भाषा जनावरले पनि बुझ्ने भएर होला, जसले जुजुलाई माया गर्छ, उसलाई लिन चोकको बाटोसम्म दगुर्छे । जुजुले मेरो घरमा सबैभन्दा धेरै माया मेरी पत्नीबाट पाउथी । जव मेरी पत्नी बिरामी भइन् उपचारको क्रममा घर र उसलाई छोडेर पटक पटक जब हामी घर बाहिर जान्थ्यौं, त्यो बेला ऊ निरास हुदै बिरामी जस्तो भएर आफ्नो बासस्थानमा बसिरहन्थी । जब हामी उपचारपछि घर फर्कन्थ्यौं, उसले सुइँको पाउँथी तब बुर्कुसी मार्दै हामीलाई लिन घरदेखि पर पुग्थी ।

हरेक प्राणी मायाको अभावमा सधै अधुरो र न्यास्रो रहन्छ होला । घरपालुवा वा जङ्गली जनावर । घर पालुवालाई मान्छेको माया वा जङ्गली जनावरलाई आफ्नो जातकै जङ्गली जनावरको । मायामात्र हैन, रेखदेख र संरक्षण झन महत्वपूर्ण कुरा । हामी उपचारको क्रममा घर बाहिर धेरै समय बिताउन थाल्यौं । उसलाई माया र संरक्षण गर्ने मान्छे नै थला परेपछि तब जुजु पनि मानसिक रुपमा सुर्ताउन थाली न त उसले मेरी पत्नीबाट जस्तै स्याहार नै पाई । दाना पानीले बाँच्ने, चल्ने र रेखदेखले स्वस्थ्य रहने उसको पनि शरिर खानपिनको अभावमा कमजोर हुदै गयो ।
मान्छेमात्र हैन, हरेक प्राणीमा विवेक जरुर छ होला । अझ कुकुरमा धेरै ।

जुजुकी प्रियपात्र मेरी पत्नीको मृत्युको दिन शोकमा घर वरपर घुम्दै कराउँदै गरी । तीन दिनसम्म केही खाइन, तीन दिनसम्म केही नखानु कतिसम्मको विरह होला । बरु मैले पीडा भुलेर आफ्नो स्वास्थ्यको लागि केही खाएँ होला तर जुजुले खाइन । अझै पनि जुजु आफुलाई मायागर्ने मान्छे गुमाएको पीडामा घोरिई रहन्छे, शरिरमा फुर्ति छैन, एकान्तमा बस्न मन पराउँछे । सायद उसलाई एकान्तमा शान्ति मिल्छ होला । म जान्दिन यो कारण न त उ बताउन सक्छे जुन कारण या त उ नै जानोस् या त भगवान नै जानोस् ।

सत्य, द्वापर, त्रेता र कलि चार युगमध्ये कलियुगको समय चलेको यो अहिले । प्रकृतिलाई गिज्याउने, प्रकृति नाशका साथै मानव अस्तित्वको नै विनाश गर्ने कारक नै मानव बनेको छ । मानवीय आचरण, व्यवहार र सोंचमा विल्कुलै उल्टो परिर्वतन भएको छ । खानपिन, रहनसहन र चालचलनमा धेरै परिवर्तन भएको छ । यी कुराहरु उल्लेख थोरै शब्द र छोटो समयमा नहोलान् ।

मृत्युको वरदानसहित जन्मेका सबै प्राणी अनि मान्छे पनि । तर मान्छेको मृत्यु निश्चित छ भन्ने कुरा भूलेर आदिकवि भानुभक्त आचार्यको कविता जस्तै व्यवहार गरिरहेको छ । भानुभक्त आचार्य आफ्नो एउटा कवितामा भन्छन्, उक्त कविता त्यो सययकै भाषा र शब्दमा छ ।

आउला जब यो कली बखतमा प्राणी दुराचार भई ।
गरन्याछन् सब पाप अनेक तरहका निच्का मतीमा गई ।।
साचो बात गरैन कोही अरुकै गर्नन त निन्दा पनि ।
अर्काको धन खानलाइ अभिलाष गर्नन असल हो भनी ।।

अरुलाई दुःख दिनु, तड्पाउनु, दुखाई सबैलाई हुन्छ भन्ने नसोंच्नु, करेन्टको झट्का लगाउनु, काठ मेशिनमा काठ जस्तै चिर्नु, माथिको कविताको अंशमा जस्तै अनाहकमा रकम असुल्नु जस्ता कार्यहरु वर्तमान युगको मानवका नियती र दैनिकी बन्दै गएका छन् ।

विगत केही वर्षदेखि देखा परेका रोग र महामारीहरु नयाँ रुप र नामले फैलिइरहेका छन् । अब मानवीय अस्तित्व मेट्न कुनै गोला, बारुद, बम वा अणुबमको आवश्यकता नपर्ला जस्तो लाग्छ । अस्वाभाविक मानवीय क्रियाकलाप, प्रकृतिमाथिको अव्यवहारको साथै अमानवीय व्यवहारको नतिजा प्रकृतिले अब बोक्न र थाम्न नसक्ने संकेत देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.