त्रिशुल प्रहारबाट दाङमा एक व्यक्तिकाे हत्या

रिपोर्ट नेपाल | 2020 Jun 12 | 12:44 pm 3634

दाङ, जेठ ३०ः शुक्रबार बिहान दाङको हापुरेमा एक व्यक्तिको त्रिशुल प्रहारबाट हत्या भएको छ । हत्या हुनेमा बबई गाउँपालिका–३ धनवासको गुन्द्रीबजार निवासी ४६ बर्षीय नारायणप्रसाद डाँगी रहेका छन् ।

उनकाे हत्या सोही ठाउँका २४ वर्षीय बालाराम वलीले घर नजिकै रहेको दुर्गा भगवतीको मन्दिरको त्रिशुल झिकेर घर नजिकै चौतारीमा बसेका डाँगीलाई हानेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

त्रिशुल प्रहारबाट गम्भीर घाइते डाँगीको उपचारका लागि तुलसीपुर लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो । मदिराले मातेका वलीले पेट र घाटीमा त्रिशुलले हानेको प्रहरीले जानकारी दिएको छ ।

डाँगीको हत्या गरेपछि आफूले आत्महत्याको प्रयास गरेको घट्नास्थल रहेका डिएसपी सिंहले बताए ।

‘उनले बन्चोरोले आफ्नो संवेदनशिल अंग लिंगलगायतका ठाउँमा काटेको छ ।’ घाइते अवस्थामा घर नजिकैको जंगलबाट वलीलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइते वलीको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको डिएसपी सिंहले जानकारी दिएका छन् । घट्ना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.