ट्राफिक प्रहरीले गर्‍यो लकडाउनलाई थप कडाई: मंगलबार मात्रै ४ हजार १ सय७ सवारी नियन्त्रणमा

| 2020 Jun 09 | 07:55 pm 1553

काठमाडाैं, जेठ २७ः नेपाल सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरेर विना काम, विना पास र अत्यावश्यक काम बाहेक सवारी
साधन चलाउने उपर चेकजाँचमा ट्राफिक प्रहरीले थप कडाई गरी नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १ सय ५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखी आम नागरिकहरूको अत्यावश्यक सेवा र कामलाई थप सहजीकरण गर्दै उपत्यकाको मुख्य नाकाहरू, मुख्य सडक तथा भित्री सडकहरूमा ट्राफिक प्रहरी परिचालन गरी चेकजाँचमा कडाई गरेको हो ।

आज मात्रै काठमाडाैं उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ३ हजार ६ सय ४७ वटा २ पाङ्ग्रे र ४ सय ६० वटा ४ पाङ्ग्रे गरी जम्मा ४ हजार १ सय ७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले दिए ।

उनले भने, आज विहान ६ बजे देखि वेलुका ७ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो ।

लकडाउन खुकुलो भन्ने गलत कुराको पछाडी नलाग्न, कुनै पनि हल्ला, भ्रममा नपर्न र लकडाउनको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता
अपनाउन महाशाखाका प्रमुख ढकालले अनुरोध गरेका छन् ।

लकडाउनमा विना काम बाहिर ननिस्कन र घरमै बसेर कोरोनाबाट बच्न गरिएको आग्रह लत्याउँदै विना काम बजार घुम्न, आफन्त भेट्न र रमाईलो गर्न निस्कने र पास नलिई सवारी चलाउने गरेको पाइएपछि त्यस्ता सवारी साधन नियन्त्रणमा लिनु परेको ढकालले बताए ।

केही दिन यता लकडाउन खुकुलो भएको ठान्दै सडकमा चहलपहल बढेपछि पुनः अझ बढी कडाई गर्न थालेको र पासको दुरूपयोग गर्ने उपर पनि महाशाखाले विशेष निगरानी तथा चेकजाँच गरी कारबाही गर्न थालेको जानकारी प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले बताए ।

उनले काठमाडौँ उपत्यकामा चैत्र ११ गतेदेखि आजसम्म लकडाउन उल्लङ्घन गर्ने ६१ हजार ४ सय ६ वटा सवारी साधनहरू नियन्त्रणमा लिईसकेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.