कानुन व्यवसायीलाई लकडाउनको समयमा पक्राउ नगर्न सर्वोच्चकाे आदेश

| 2020 Jun 08 | 08:05 am 1489

काठमाडाैं, जेठ २६ः कानुनी परामर्श दिन हिँडेका कानुन व्यवसायीलाई लकडाउनको समयमा पनि पक्राउ नगर्न आइतबार सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र डा मनोजकुमार शर्माको संयुक्त इजलासले नेपालको संविधानमा पक्षहरूले कानुनी परामर्श लिन पाउने व्यवस्था भएको उल्लेख गर्दै लकडाउनको अवस्थामा पनि त्यस्तो सेवा दिन लागेको व्यक्तिलाई नपक्रन आदेश दिएको हो ।

अधिवक्ता चिरञ्जीवी ढकाललाई यही जेठ २१ गते अदालत जान लाग्दा काठमाडौंस्थित माइतीघरबाट पक्राउ गरिएको थियो । आफू मुद्दाको सिलसिलामा अदालत जान लाग्दा पक्राउ गरिएको उल्लेख गर्दै उनको तर्फबाट अधिवक्ता कान्तिराम ढुंगानाले रिट निवेदन दायर गरेका थिए ।

सर्वोच्चले ढकाललाई रिहा गर्न आदेश दिएबमोजिम आइतबार नै उनी सर्वोच्चका रजिस्ट्रारको रोहवरमा थुनामुक्त भएका छन् ।

सर्वोच्चले लकडाउनको समयमा पनि कानुन व्यवसायीले पक्षको लागि आवश्यक कानुनी सेवा दिइरहनुपर्ने भएको उल्लेख गर्दै त्यस्तो व्यक्तिलाई सेवा दिन लागेका बेलामा नपक्रन आदेश दिइएको हो ।

‘नेपालको संविधानको धारा २०(२) मा पक्राउ परेका व्यक्तिले निजले रोजेको कानुन व्यवसायीसँग सल्लाह लिन पाउने तथा कानुन व्यवसायीद्वारा पुर्पक्ष गर्ने हक हुनेछ भन्ने न्यायसम्बन्धी हकको व्यवस्था गरेको छ ।’ –आदेशमा भनिएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.