देशभर मनसुन शुरु: आज र भोलि निरन्तर झरी

| 2018 Jul 02 | 07:21 am 2780

काठमाडौँ, असार १८ : देशभर मनसुनी झरी सुरु भएसँगै आइतबार बेलुकादेखि सुरु भएको मनसुनी झरी सोमबार र मंगलबार पनि निरन्तर हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ। अरब सागर र बंगालको खाडीबाट निरन्तर जलवाष्प आइरहेकाले निरन्तर झरी हुन सक्ने मौसमविद् सुवास रिमालले बताए।

‘हामीले सामान्यतया तीन दिनको मात्रै मौसमको पूर्वानुमान गर्न सक्छौँ,’ रिमालले भने, ‘सोमबार र मंगलबारपछि पनि केही दिन निरन्तर वर्षा हुन सक्छ।’ मनसुनको मध्य समय भएकाले बाढी पहिरोको उत्तिकै सम्भावना हुने विज्ञहरूले बताएका छन्।

सरोकारवाला सबै निकायलाई जानकारी गराइसकिएको जल तथा मौसम विज्ञान विभागका महार्निदेशक ऋषिराम शर्माले बताए । उनले भने, ‘निरन्तर झरी हुने भएपछि गृह मन्त्रालयका साथै सम्भावित बाढी आउन सक्ने जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जानकारी गराइसकेका छौँ।’ रेडक्रसलगायत विभिन्न संघ–संस्थालाई बाढी पहिरो आएमा उद्धारमा पनि चनाखो रहन निर्देशन दिइसकेको उनले जनाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.