काठमाडौं, जेठ १८ः रुकुम घटनामा मारिएकाहरूको अनुगमन तथा अनुसन्धानका लागि मानवअधिकार आयोगको टोली घटनास्थल प्रस्थान गरेको छ । आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईंकाे नेतृत्वमा आयोगको टोली आइतबार घटनास्थल प्रस्थान गरेको हो ।
टोली घटना भएको स्थल पश्चिम रुकुम चौरजहारीको सोती र मृतकको गाउँ जाजरकोट पुगेर अध्ययन गर्ने बुझिएकाे छ ।
गत १० गते जेठमा जाजरकोटको भेरी नगरपालिकाबाट नवराज विकसहित युवाहरुको समूह नवराजकी प्रेमिका भनिएकी एक मल्ल थरकी युवतीलाई ल्याउन भन्दै चौरजहारीको सोती गाउँ गएका थिए ।
घटनामा नवराज विकसहित पाँच जनाको मृत्यु भएकाे छ भने एक जना अझै वेपत्ता छन् । पीडित पक्षको किटानी जाहेरीको आधारमा प्रहरीले केटी पक्षका केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइएकाे छ ।