काठमाडाैं, जेठ १७ः शनिबार बसेकाे मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ गतेसम्म गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।
खतिवडाका अनुसार सरकारले लकडाउनसँगै सीमाना र विमानस्थल पनि असार १६ गतेसम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ ।
सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो। त्यसपछि फेरि दोस्रो, तेस्राे गर्दै सरकारले एकै पटक १५ दिन लकडाउन थपेर जेठ २० गतेसम्म लम्ब्याएकाे थियो ।
कोरोना संक्रमणको जोखिम, संक्रमित र मृतक बढ्दै गएपछि लकडाउनलाई लम्ब्याउन सिफारिस गर्ने निर्णय गरे अनुसार सरकारले जेठ ३२ गतेसम्म लकडाउनको समयावधी थप गरेको बताइएकाे छ ।
शनिबार एकै दिन पहिलाे पटक धेरै संख्यामा १ सय ८९ जनामा कोरोना भाइरस संक्रमित थपिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै संक्रमितको संख्या १४ सय १ पुगेको छ। सात जनाको मृत्यु भइसकेको छ भने २ सय १९ जनाले कोरोनालाई जितेर निकाे भइ घर फर्किसकेका छन् ।