सप्तरी, जेठ १०ःअवैध ९ लाख भारतीय रूपैयाँ चिनीमा लुकाएर भारतबाट नेपालतर्फ आउन लागेका एकजना भारतीयलाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको बथनाहा निवासी २८ वर्षीय फूलकुमार मेहता रहेका छन् । मेहतालाई ९ लाख भारतीय रुपैयाँसहित सप्तरीबाट पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे हाे ।
लकडाउनको समयमा मेहता कोसी पलार हुँदै आइरहेको अवस्थामा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडानम्बर १४ बाट उनलाई रुपैयाँसहित नियन्त्रणमा लिइएको सप्तरी प्रहरीले जनाएको छ ।
भारतबाट नेपाल तर्फ लुकीछिपी आउँदै गर्दा मेहताले हातमा झुन्ड्याउने नाइलनको झोलामा २ किलो चिनीले छोपेर रुपैयाँ ल्याउँदै गर्दा फेला पारिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी तिलक भारतीले जानकारी दिए ।
उनलाई जिल्ला प्रहरी कार्यालय राजविराजको नियन्त्रणमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।