मित्रराष्ट्र चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्रीहरु प्राप्त

| 2020 May 20 | 08:09 am 1442

काठमाडाैं, जेठ ७ः नेपाली सेनाद्वारा मित्रराष्ट्र चीनबाट खरिद गरिएका कोभिड-१९ को रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्रीहरु नेपाल आईपुगेको छ ।

खरिद गरिएका स्वास्थ्य सामग्रीहरु मध्ये नेपाल वायु सेवा निगमको जहाजबाट २०७७ जेठ ६ गते १८.७ टन स्वास्थ्य सामग्रीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याई पुर्‍याएको हाे ।

दश वटा कन्टेनरबाट २ सय ६५ क्युविक मिटर र पाँच वटा कन्टेनरबाट १ सय ७६ क्युविक मिटर स्वास्थ्य सामग्रीहरु स्थलमार्ग हुँदै
नेपाल ल्याई पुर्‍याएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०७६ चैत्र १६ गतेको कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधी, उपकरण तथा अन्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत सरकार-सरकार (Government to Government-G to G) विधिबाट खरिद गर्ने निर्णय अनुसार अन्तर्राष्ट्रिय अभ्यास तथा
प्रचलन अनुरुप प्रचलित सार्वजनिक खरीद ऐन तथा नियमावलीको परिधिभित्र रहि नेपाली सेनाले खरिद प्रक्रिया अघि बढाएको थियो ।

स्थलमार्गबाट प्राप्त भएका स्वास्थ्य सामग्रीहरु गौचर व्यारेकस्थित नेपाली सेनाको Warehouse मा दाखिला गरिसकिएको छ भने हवाई मार्गबाट मंगबार प्राप्त भएको स्वास्थ्य सामग्री  बुधबार स्टोरमा दाखिला गरिने छ ।

२०७७ बैशाख ०७ गते मित्रराष्ट्र चीनको सरकारी स्वामित्वमा रहेको China Sinopharma International Corporation संग कुल मुल्य USD एक करोड चौरासी लाख एक चालिस हजार सात सय छ पैतिस पैसको औषधिजन्य सामग्रीहरु खरिद गर्ने सम्झौता भए बमोजिम उक्त स्वास्थ्य सामग्रीहरु प्राप्त भएको हो ।

साथै नेपाल सरकारको २४ घण्टा क्वारेन्टिनमा बस्ने नियम बमोजिम २०७७ जेष्ठ ६ गतेको बिहानबाट क्वारेन्टिनमा रहेको ७ वटा कन्टेनर ट्रक तातोपानी भन्सारबाट क्वारेन्टिन पश्चात बुधबार काठमाडौंतर्फ प्रस्थान गर्ने र ८ वटा कन्टेनर ट्रक बुधबारबाट २४ घण्टा क्वारेन्टिनमा बसी बिहीबार काठमाडौंतर्फ प्रस्थान हुने योजना रहेको छ ।

नेपाली सेनाले आफुलाई समयानुकल परिमार्जित परिस्कृत गर्दै चुस्त दुरुस्त बनाउदै मितव्ययी र पारदर्शी हुँदै जाने वर्तमान नेतृत्वको उद्देश्य अनुरुप नेपालको संविधान र प्रचलित ऐन, नियम तथा नेपाल सरकारबाट निर्दिष्ट जिम्मेवारी अनुरुप देश र जनताको हितका लागि हालको विषम् परिस्थितिमा सिङ्गो संगठन लागि परेको व्यहोरा समेत जानकारी गराएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.