जोगवनी भन्सारबाट सशस्त्र प्रहरीले अवैध एक करोड नौ लाख भारतीय रुपैयाँसहित २ जना पक्राउ

रिपोर्ट नेपाल | 2020 May 05 | 04:48 pm 3043

माेरङ, बैशाख २३: मंगलबार विराटनगरस्थित रहेकाे जोगवनी भन्सारबाट सशस्त्र प्रहरीले अवैध एक करोड नौ लाख भारतीय रुपैयाँसहित २  जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको दार्जिलिङ, सिलिगढी गंगानगर-५ का २४ वर्षीय चालक रवीन्द्र शर्मा र भारतकै बिहारको महजपुर जिल्ला, रौतिमिया वडा नं १२ का १८ वर्षीय पप्पु कुमार रहेका छन्।

उनीहरूलाई एकीकृत भन्सार जाँच चौकी विराटनगर परिसरबाट मंगलबार दिउँसो डब्लूबी ७३ ई ७६३५ नम्बरकाे खाली ट्रकबाट एक करोड नौ लाख ७९ हजार ५ सय भारतीय रुपैयाँसहित पक्राउ गरिएको सशस्त्र प्रहरीका उपरीक्षक नेत्र कार्कीले जानकारी दिए ।

भारतबाट प्रवेश गरेको ट्रकलाई चेकजाँच गर्ने क्रममा बोराभित्र राखेको उक्त रकम भेटिएको कार्कीले बताए । उक्त पैसालाई गुट्खाको र्‍यापरले बेरेर लुकाएर ल्याइएको अवस्थामा रकम बरामद भएको हो।

सामान नलिई आएको ट्रकलाई भारतीय पक्षले चेकजाँच नगरी नेपाल प्रवेशको अनुमति दिएको बुझिएकाे छ । नेपालमा प्रवेशपछि जाँच गर्दा बोराभित्र राखेको उक्त रकम बरामद भएको कार्कीले बताए। उक्त रकम हुण्डी कारोवारीले ल्याएको हुनसक्ने बुझिएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.