इलाम, बैशाख २३ः सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्जसहित तीन जना कार्यकर्तालाई विस्फोटक पदार्थसहित प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा इलाम जिल्ला इञ्चार्ज पुष्प कोइराला रहेका छन् । उनीसँगै ताप्लेजुङ लिकुखोला घर भएका जनम भनिने २४ वर्षीय पासाङ शेर्पा र उदयपुरका सौरभ भनिने १९ वर्षीय पासाङ तामाङ पनि पक्राउ परेकाे प्रहरीले जानकारी दिएकाे छ।
उनीहरूलाइ ठुलो परिमाणमा विष्फोट पदार्थसहित इलामको माई नगरपालिका-९ बोरुङमा शसस्त्र प्रहरीसमेतको टोलीले पक्राउ गरेको हो। विशेष सुराकीका आधारमा समातिएको र उनीहरूका साथबाट विष्फोटक पदार्थ तथा त्यसका लागि प्रयोग हुने सामग्री बरामद भएको इलामका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए।
पाण्डेका अनुसार उनीहरुको साथबाट विष्फोटक पदार्थ डिटोनेटर १९ थान, प्रेसरकुकर बम एक थान, ग्रिनेड एक थान, टुकी बम एक थान, पाइपमा फीट गरिएको बम एक थान, डेथ कड ६७ फिट, बम विष्फोटमा प्रयोग हुने मिटर र रिमोट चार थान, विभिन्न प्रकारका बिष्फोटक पदार्थ, चक्कु तथा दस्तावेजहरु फेला पारिएको बताए ।
पक्राउ परेका तिनै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय इलाम लगी आवश्यक अनुसन्धान गरिरहेकाे बताइएकाे छ।