गुल्मी, बैशाख २०ः लकडाउनका कारण समस्यामा परेका नागरिकहरुका लागि खाद्यान्न राहत वितरण गर्दा स्थानीय उत्पादनलाई प्रयाेगमा ल्याउन स्थानीय सरकारलाई नेपाली काँग्रेस गुल्मीले आग्रह गरेको छ ।
शनिबार तम्घासमा बसेको नेपाली कांँग्रेसको बैठकले विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनका कारण समस्यामा परेका नागरिकहरुलाई खाद्यान्न राहत वितरण गर्दा स्थानीय उत्पादनलाई उपयोगमा ल्याउन स्थानीय सरकारलाई आग्रह गरेको हो ।
ज्याला मजदूरी तथा गरिब विपन्नका लागि सरकारले दिने राहत बाहिरबाट ल्याइएको खाद्यान्नहरु वितरण भइरहेकाे हुँदा स्थानीय उत्पादनले ठाउँ नपाइरहेको अवस्थामा स्थानीय उत्पादनलाई बढवा दिने गरी उपयोग गर्न स्थानीय सरकारलाई आग्रह गरिएको पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए ।
सभापति श्रेष्ठले स्थानीय स्तरमा उत्पादन गरिएको कोदो, मकै गहुँ जस्ता खाद्यवस्तुलाई भरपुर उपयोगमा ल्याई स्थानीय उत्पादनमा जोड दिन उनले स्थानीय सरकारलाई आग्रह गरे ।
कोरोना प्रकोपका विरुद्ध सामुहिक रुपमा लड्ने प्रतिवद्धता व्यक्त गर्दै सरकारले उठाएका सम्पूर्ण कदममा साथ दिन कांग्रेस पार्टीको क्षेत्र, प्रदेश, गाउँ, नगर र वडा कार्य समितिलाई सहयोगका लागि सभापति श्रेष्ठले आग्रह समेत गरेका छन् ।
कोरोना प्रकोपको विरुद्धमा अग्रपक्तिमा रहेर सेवामा लागि परेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, जनप्रतिनिधिलाई धन्यवाद दिदै उच्च मनोवलका साथ कार्यस्थलमा खट्न गुल्मी कांग्रेसले आग्रह गरेको छ ।
स्वास्थ्य समस्या भएका सम्पूर्ण बिरामीहरुलाई आवश्यक औषधि उपचार सर्वसुलभ गराउन सम्बन्धित निकायको ध्यान आकृष्ट गराउने सचिव खिलध्वज पन्थीले बताए ।
ज्याला मजदुरी गरी हातमुख जाेड्ने वर्गलाई लकडाउनले पारेको समस्यालाई समाधान गरी व्यवस्थित राहत अविलम्ब उपलब्ध गराउन सम्बन्धित पक्षसँग आग्रह गर्ने समेत उनले जानकारी दिए ।
विपद्को बेला पार्टीले सहयोग पुर्याएका जिल्लामा गठित विपद व्यवस्थापन समिति, जनप्रतिनिधि, स्थानीय सरकार, नेपाली काँग्रेस गुल्मी काठमाडौ सम्पर्क समिति, रेडक्रस, नगरपालिका, प्रदेश, विभिन्न संघसंस्था एवम् सामाजिक व्यक्ति लगायतलाई कांग्रेसले धन्यवाद दिएको छ ।