बैतडी, बैशाख २०ः लामाे समयपछि नेपाल–भारत सीमा झुलाघाटबाट उद्धार गरेर ल्याइएका एक जना बृद्धकाे मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–६ घर भएका ६७ वर्षीय जुनी लोहार रहेका छन् ।
उनकाे शनिबार बिहान ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीराम पाण्डेले जानकारी दिए ।
बिहीबारमात्र उद्धार गरी ल्याइएका लोहारसहितको समूहलाई पहिलो दिन दशरथचन्द नगरपालिकाको स्कुलमा राखिएको र शुक्रबार बैतडीको पुरचौडी नगरपालिकामा पुर्याइएकाे थियो ।
शनिबार विहान अर्को क्वारेन्टाइनमा हिँडाएर लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको डीएसपी पाण्डेले बताए । कोरोनाको कुनै लक्षण नदेखिए पनि मृतक लोहारको स्वाब परीक्षणका लागि धनगढी पठाइएको बताइएकाे छ । डीएसपी पाण्डेका अनुसार लोहारले दम राेगको कारण औषधि खाइरहेका थिए ।