काठमाडाैं, बैशाख १८ः राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगामा आधुनिक ‘डिस्इन्फेक्सन टनेल’ निर्माण गरिएको छ ।
विश्वभर फैलिरहेकाे काेराेना भाइरस (काेभिड १९) काठमाडौं उपत्यकामा नभित्रियोस भन्ने उद्देश्यका साथ गाडीहरुलाई निःसंक्रमण गर्न ‘डिस्इन्फेक्सन टनेल’ बनाइएको चन्द्रागिरी नगरपालिकाले जानकारी दिएकाे हो ।
उक्त टनेल निर्माण काठमाडौंमा संचालन भइरहेकाे बिजुली बसकाे कम्पनी सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा निर्माण गरेको हो । चन्द्रागिरी नगरपालिकाले स्थान, पानीको ब्यवस्थापन सुरक्षाको प्रवर्धन गरेको मेयर घनश्याम गिरीले बताए ।
सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले केन्द्र सरकार, चन्द्रागिरी नगरपालिकाबाट अनुमति लिएर ‘डिस्इन्फेक्सन टनेल’ बनाइएको र शुक्रबार औपचारिक रुपमा उद्घाटन हुने बताए ।
टनेलको सुरक्षा र सञ्चालन महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले गर्ने भएको छ । टनेल निर्माण पश्चात् राजधानी भित्रने सवै सवारी साधन निःसंक्रमण गर्न ‘डिस्इन्फेक्सन भए पछि मात्र राजधानी प्रवेश गर्न पाउने बताइएकाे छ ।
काठमाडौं भित्रिने गाडीहरु यही टनेलमार्फत गुड्नुपर्ने छ । टनेलभित्र प्रवेश गर्दा गाडीको बाहिरी भागमा भाइरस मार्ने औषधि छर्किइन्छ जसका कारण कोरोना भित्रिन रोक्न मद्दत पुग्ने बुझिएकाे छ ।
नागढुंगामा संचालित टनेलले राम्रो नतिजा दिए अर्काे नाका फर्पिङमा पनि निर्माण गर्ने योजना रहेको सुन्दर यातायात प्रालिका अध्यक्ष थापाले जानकारी दिए ।