बारा, बैशाख १५ः बारा–पर्सा करिडाेरमा रहेका उद्याेगहरूले काेराेना भाइरस (काेभिड १९) काे प्रकाेपकाे कारण गत चैत ११ देखि देशभर लकडाउन भइरहेकाे माैका पारी बढी मुल्यमा मसुराेकाे दाल बिक्री गरेकाे अभियाेगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा नारायणी माेडर्न पल्सेस इण्डष्ट्रिज परवानीपुर ४ चैनपुर बाराका प्राे माेहनलाल अग्रवाल र प्रतिनिधि सुनिल शर्मा, श्री कृष्ण आधुनिक दाल उद्याेग छातापिपरा ९ बाराका प्राे पवनकुमार साह र प्रतिनिधि सुरेश प्रसाद र महावीर ओभरसिज प्रालि परवानीपुर ४ लिनीभाल बाराका प्रतिनिधि सन्ताेष झा रहेका छन् ।
कालाेबजारी गरी बिक्री गरिरहेकाे भन्ने विशेष सूचना, अनुगमन समितिकाे प्रतिवेदनका आधारमा कारबाहीकाे लागि वाणिज्य, आपूर्ति तथा उपभाेक्ता संरक्षण कार्यालय, पर्साका प्रजिअ र जिप्रका बाराकाे पत्र अनुसार पक्राउ गरिएकाे जनाइएकाे छ ।
उनीहरूलाई कालाेबजार तथा सामाजिक अपराध ऐन २०३२ बमाेजिम कालाेबजारी गरेकाे कसूरमा अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
उक्त उद्याेगहरूले लकडाउन भन्दा अगाडि प्रति किलाे ८० देखि ८५ र लकडाउन अवधिमा ९४ देखि ९८ सम्म बिक्री गरेकाे प्रारम्भिक अनुसन्धानमा खुलेकाे हाे ।