काठमाडौं सुरक्षित रहेकाले हतार गरेर उपत्यका नछाड्न महानगरबासीलाई मेयर शाक्यकाे आग्रह

रिपोर्ट नेपाल | 2020 Apr 24 | 07:46 am 1562

काठमाडाैं, बैशाख १२ः काठमाडौं महानगर क्षेत्रभित्रको आपूर्ति व्यवस्थालाई सहज बनाउन काठमाडौं महानगरपालिकाले सरोकारवालासँग छलफल गरेको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन लम्बिएसँगै आपूर्ति व्यवस्थामा केही असहज भएको भन्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन काठमाडौं महानगरपालिकाले सरोकारवालासँग छलफल गरेको हो ।

बैठकमा काठमाडौं महानगरपालिकाका मेयर शाक्यले महानगर क्षेत्रभित्रको आपूर्ति व्यवस्थामा एकरूपता ल्याउनेलगायतका विषयमा छलफल भएको जानकारी दिए । ‘लकडाउनको अवधिमा आपूर्ति व्यवस्थालाई एकरूपता कायम गर्दै आर्थिक गतिविधिलाई पनि चलायमान बनाइराख्नुपर्छ भन्ने विषयमा बढी जोड दिएका छौं ।’ –मेयर शाक्यले भने ।

अहिले लकडाउनको अवस्थामा अतिविपन्न, असहाय र मजदुरलाई मात्रै राहतको व्यवस्था गर्ने होइन आफैं किन्न सक्नेलाई किन्ने वातावरणसमेत निर्माण गरिदिनुपर्ने अवस्था भएको उनको भनाइ छ ।

हालसम्मको राहत वितरणबारे जानकारी गराउँदै मेयर शाक्यले अहिलेसम्म काठमाडौं महानगरपालिकाबाट मात्रै ६२ हजार ७ सय २२ जनाले राहत प्राप्त गरेको र १४ हजार ५ सय १७ जनालाई खाना खुवाएको जानकारी गराए ।

मेयर शाक्यले अहिलेसम्म काठमाडौं हानगरपालिका क्षेत्रभित्रका ८ सय ५६ जनाको र्यापिड टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको भन्दै अहिलेसम्मको अवस्थामा काठमाडौं सुरक्षित रहेकाले हतार गरेर उपत्यका नछाड्न महानगरबासीलाई आग्रह पनि गरे । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.