काठमाडौं, बैशाख ७ः काेराेना भाइरसले विश्व आतंकित भईरहेकाे बेला नेपाल पनि त्यो आतंकबाट अछुतो रहन सकेकाे छैन। अहिलेसम्म यस राेगकाे औषधि पत्ता लाग्न नसकेका कारण अहिले थुप्रै देशले लकडाउन गरेका छन्।
नेपाल पनि लामो समयदेखि लकडाउनमा छ। यस्तो डरलाग्दो स्थितिमा आफ्नाे ज्यानलाई भन्दा कर्तव्यलाई महत्व दिई लागि परेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सरकारले मनाेबल बढाउनुपर्नेमा सरकार यस्तो अवस्थामा पनि प्रतिशाेध साध्न व्यस्त रहेको छ।
रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले अहिले प्रतिशाेध साध्ने काम गरेका छन्। प्राप्त समाचार अनुसार शुक्रराज ट्रपिकल तथा सरूवा राेग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिटका संयाेजक डा शेरबहादुर पुनलाई स्पष्टीकरण साेधेर स्वास्थ्य मन्त्रीले प्रतिशाेध साध्ने काम गरेका छन्।
आफ्नाे ज्यानलाई हत्केलामा राखेर कर्तव्यबोधका साथ विरामीकाे उपचारमा संलग्न चिकित्सकले सानातिना गल्ती गरे पनि यस्तो विषम परिस्थितिमा स्पष्टीकरण साेध्ने कार्यले आम चिकित्सक आतंकित भएका छन्।
काेराेना महामारीको अग्र स्थानमा रही काम गर्नेलाई सरकारले प्राेत्सान गर्न जरुरी छ। अन्यथा ज्यानलाई भन्दा कर्तव्यलाई महत्त्व दिएका चिकित्सकले काम राेकिदिए भने के हालत हाेला जिम्मेवार निकायले साेच्न जरुरी छ।