काठमाडाैं, बैशाख ५ः सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको कार्यपालिकाको बैठकले मेलम्ची खानेपानी आयोजनालाई काम बन्द गर्न आग्रह गरेको छ ।
लकडाउन सुरु भएपछि सुस्ताएको मेलम्ची खानेपानी आयोजना निर्माण कार्यले पुनः गति लिएको छ ।
राष्ट्रिय गौरवको सो आयोजनामा ‘लकडाउन’ को पहिलो साता कतिपय मजदूर घर फर्किका थिए भने चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आवश्यक निर्माण सामग्री ल्याउन नसक्दा काम केही समय रोकिएको थियो । तर, अहिले मजदूर काम आउन थालेको र निर्माण सामग्रीका लागि प्रशासनले पास उपलब्ध गराएकाले निर्माणको काम अघि बढेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इञ्जिनीयर कमलराज श्रेष्ठले जानकारी दिए ।
सरकारले अत्यावश्यक वस्तुसँगै ठूला आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने निर्णय गरेपछि काम अघि बढेको हो ।
अहिले आयोजनाको सुन्दरीजलस्थित दुवै प्रशोधन केन्द्रको परीक्षणको काम भइरहेको छ । निर्माण स्थलमा चिनियाँ दक्ष कामदार ४० देखि ५० जना समेत गरी अहिले झण्डै दुई सय कामदार कार्यरत छन् ।
यसैबीच गाउँपालिका हुँदै आयोजनाका आवश्यक सामग्री ढुवानी गर्नुपर्ने हुँदा नागरिकमा भय र त्रास बढेकाले कार्यपालिकाले काम बन्द गर्न आग्रह गरेको हो ।।