अग्रवालको लुट धन्दाले सीमा नाघेपछि…

| 2020 Apr 17 | 08:25 am 1342

काठमाडौं, बैशाख ५ः कालोबजारी गरेको आरोपमा रंगेहात पक्राउ परेका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई बचाउन चलखेल सुरु भएको छ । लामो समयदेखि सरकारी निकायको आँखा छल्दै र मिलेमतोमा कालोबजारीमा संलग्न हुँदै आइरहेका अग्रवाल प्रहरी फन्दामा परे पनि उनलाई बचाउन शक्तिकेन्द्र लागिरहेको सरकारी अधिकारीले बताएका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले उनलाई ३ हजार ५ सय रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बिक्री गर्दै गरिरहेको अवस्थामा २५ चैतमा रंगेहात पक्राउ गरी नियन्त्रणमा लिएको थियो ।

‘अग्रवाल र उनका निकटले यस प्रकरणलाई सामसुम पार्न शक्तिकेन्द्र र सरकारका विभिन्न निकायलाई प्रभावमा पार्न निकै दौडधुप गरिरहेका छन्,’ स्रोतले भन्यो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले पनि अग्रवाललाई छुटाउन शक्तिकेन्द्रबाट ठूलै प्रयास भइरहेको बताए । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले अग्रवालको मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप भई अनुसन्धान प्रक्रिया जारी राखिएको बताए ।

अग्रवालको बदमासी
– महामारीको समयमा कालोबजारी
– भ्याट छली
– फिडरलाइनमा अनियमितता
– गुणस्तरहीन वस्तु उत्पादन गर्दै ठगी
– विद्युत् प्राधिकरणमा २ अर्ब ६५ करोड रुपैयाँ बक्यौता

अग्रवाल यसअघि नक्कली भ्याट प्रकरणमा समेत मुछिएका थिए । पटक–पटक गैरकानुनी क्रियाकलापमा संलग्न रहँदै आएको शंकर ग्रुप भ्याट छली, कबाडी सामानबाट गुणस्तरहीन रड उत्पादन गर्ने, डेडिकेटेड फिडरलाइनमा अनियमिततालगायत प्रकरणमा जोडिएको थियो ।

विभिन्न कानुनका छिद्र प्रयोग गर्दै अनियमितता गर्दै आएको शंकर ग्रुपले यसअघि २०६८ सालमा भ्याट छली गरेर सीआईपी सम्मानसमेत गुमाएको थियो । अहिले भने अवैतनिक महावाणिज्यदूतको पदसमेत गुमाउनुपरेको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.