रसुवा, बैशाख ४ः रसुवा र नुवाकोटको सीमानामा रहेको बेत्रावतीस्थित फलाखु खोलामा पुल निर्माणको कामले निरन्तरता पाएको छ ।
बिश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोभिड १९ का कारण अधिकांश ठाउँहरुमा कामदार अभावमा निर्माणका गतिविधिहरु रोकिएपनि स्थानीय कामदार भएका कारण बेत्रावतीमा पुल निर्माणको कामले निरन्तरता पाएको हो ।
बाहिरी जिल्लाका मानिसहरुलाई काममा नराखि आवश्यक सामग्री जुटाएर काम गरिएकोले पुलको कामले निरन्तरता पाएको गल्छी त्रिशुली, स्याफ्रुबेसी, रसुवागढी सडक आयोजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए ।
लकडाउन सुरु हुनुभन्दा पहिले नै सामान आइपुगेको र कामदारहरु पनि स्थानीय भएकाले कामले निरन्तरता पाएको हो । रसुवागढी जोड्ने ८२ किलोमिटर लामो सडकमा एघार वटा पुल निमार्ण गर्नु पर्ने छ।
गल्छी देखि मैलुङबेसि सम्मको सडकको चौडा गर्ने काम देखि कालो पत्रे गर्ने कामहरु रोकिए पनि पुलको काम भने धमाधम भइरहेको हाे । राष्ट्रिय गौरवको आयोजनामा परेको गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक आयोजनाले ६० प्रतिशत काम सकेको जनाएको छ ।