काठमाडाैं, बैशाख ४ः राजधानी भित्रिने र बाहिरिने मुख्य नाकाकाे सडक त्रिभुवन राजपथको नौबिसे पिप्लामोड अत्याधिक सवारी चापको कारणले मर्मतसम्भार गर्न नसकिएको सडकको मर्मतसम्भार थालिएको छ ।
काेराेना राेकथाम तथा नियन्त्रणका लागि सरकारले मुलुकभर गरेकाे लकडाउनको समयमा अत्यावश्यक बाहेकका सवारी साधन नगुड्ने भएपछि सो सडकको मोड सुधारको काम थालिएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई. कृष्णराज अधिकारीका अनुसार दुई दिन अघिबाट घुम्तीहरुमा मोड सुधारको काम थालिएको जानकारी दिए ।
उक्त सडक खण्डको १० किलोमिटर क्षेत्रमा माथिल्लो तहमा कालोपत्र गर्ने तयारी गरिएको हाे । लकडाउनको समयमा काम गर्न पाएमा दुई साता भित्रमा सबै काम सम्पन्न हुने उनको भनाइ रहेकाे छ ।
गएको दशैं अगाडी एकतर्फी सडक रोकेर मर्मत गर्दा सवारी जाम अत्याधिक भएपछि काम गर्न सकिएको थिएन ।
सवारी साधनहरु सञ्चालन भएको समयमा काम गर्न निकै कठिन हुने गरेकाले लकडाउनको अवसरलाई उपयोग गर्न लागिएको हो । डिभिजन सडक कार्यालयले लकडाउनलाई उपयोग गर्दै पृथ्वी राजमार्गमा रोड मार्किङको काम पनि सुरु गरेको बताइएकाे छ ।