काठमाडाैं, बैशाख ३ः कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि लागू भएको लकडाउनको अबधिमा पास लिएर गुड्ने सवारी साधनहरुले पासको दुरुपयोग पनि गरेको पाइएको छ ।
लकडाउन अबधिमा पास लिएर समेत धेरै संख्यामा सवारी साधन गुड्ने गरेकाले ट्राफिक प्रहरीले त्यस्ता सवारीलाई कडाई गर्न लागेको हो ।
सम्बन्धित व्यक्तिको अनुरोधमा निश्चित प्रयोजन र समायबधिका लागि भनी तोकिएको पासलाई अर्कै प्रयोजन र जुनसुकै समयमा समेत प्रयोग गरेको पाइएकोले त्यस्ता सवारी साधनहरुलाई ट्राफिक प्रहरीले कडाइका साथ चेकजाँच र कारबाही गर्ने महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले बताए ।
उनले अत्यावश्यक काम बाहेक अन्य समयमा समेत घुमफिर गर्न, भेटघाट गर्न, अनावश्यक बाहिरि अवस्था हेर्न, पास छ भनेर शान देखाउदै हिड्न समेत त्यस्ता सवारी साधनहरु गुडेको भेटिएका छन्, अब त्यस्ता सवारी साधनलाई ट्राफिक प्रहरीले निग्रानी बढाउनुको साथै दुरुपयोग गरेको पाइए कारबाही समेत गरिने बताए ।
हालसम्म लकडाउन उल्लंघन गर्ने ८ हजार ९ सय ७४ सवारी साधन होल्ड तथा १ हजार ८ सय ४६ वटा पासको दुरुपयोग गरी गुडेका सवारी साधनको पासलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसै गरी लकडाउनको समयमा २१ जना मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई समेत कारबाही गरिएको महाशाखाका प्रबक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए । उनले भने अनावश्यक हिड्डुल गर्न र पासको दुरुपयोग समेत रोक्नका लागि सिभील प्रहरी खटाउनुको साथै सिसिटिभीबाट समेत निगरानी गरिने छ ।
लकडाउनको अबधिमा मापसे गरी सवारी चलाउने, तिब्रगतिमा गुड्ने लगायत अन्य ट्राफिक नियमको पालना नगर्ने सवारी साधनहरुलाई कारबाही गरी लकडाउन अबधिभर होल्ड गरिने बताइएकाे छ।
ट्राफिक प्रहरी महाशाखाले उपत्यकमा दिनमा १ सय ५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखि चेकजाँचको व्यबस्था मिलाएको छ भने अन्य स्थानहरुमा संयुक्त चेकजाँच समेत हुने गरेको छ ।
चेकजाँचको क्रममा ट्राफिक प्रहरीले पास भए नभएको अलवा पासको प्रयोग, अनुमतिप्राप्त व्यक्ति लगायत थप सोधपुछ समेत गर्ने छ ।
ट्राफिक प्रहरी महाशाखाले तिब्रगतिमा सवारी नचलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न सबैमा अनुरोध समेत गरेको छ ।