काठमाडौं, बैशाख ३ः कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा २ अर्ब भन्दा बढी रकम जम्मा भएको छ । सरकाले ५० करोड जम्मा गरेर सुरु गरेको कोषमा मंगलबार साँझ ५ बजेसम्म २ अर्ब १ करोड ८ लाख ६५ हजार १ सय ७६ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री कार्यालयले निकालेको विज्ञप्तिमा जनाइएको छ ।
कोरोना भाइरसले नेपालमा महामारीको रुप लिन सक्ने भन्दै यसको रोकथाम, नियन्त्रण तथा संक्रमितको उपचारका लागि सरकारले कोषको स्थापना गरेको थियो । कोषमा नेपाल आयल निगमले ५० करोड जम्मा गरेको बताइएको छ ।
त्यस्तैगरी हिमालय एयरलाइन्सले १ करोड, सनलाईफ इन्स्युरेन्सले ३० लाख १ हजार, नेशनल माइक्रो फाइनान्सले १० लाख, शिक्षा मन्त्रालयले ९ लाख ८८ हजार ८ सय ८७, प्रभु लाइफ इन्स्युरेन्सले ७ लाख ५० हजार, नेपाल माउन्टेनरियन एशोसिएसनले ५ लाख, टिआइए कस्टमले ४ लाख ५४ हजार १ सय २४ रुपैयाँ जम्मा गरेको छ ।
कोषमा अन्य संघ संस्था तथा सरकारका अन्य निकायले पनि सहयोग रकम जम्मा गरेको विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी नाम नलेखाई सहयोग गर्ने व्यक्तिहरुबाट १ करोड ३८ लाख ६६ हजार ३ सय ५९ रकम जम्मा गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
यसका साथै प्रधानमन्त्री साथै अन्य नेता तथा सांसदहरुले समेत आफूले पाउने पारिश्रमिक कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने जनाइसकेका छन् ।
