इटहरी, असार १६ : सूचना तथा सञ्चार र प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाली सञ्चारमाध्यमहरुलार्इ सकारात्मक समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् ।
मन्त्री बाँस्कोटाले शुक्रबार साँझ इटहरीमा सुनसरीका अग्रज सञ्चारकर्मीसँगको सामूहिक भेटघाट कार्यक्रममा सञ्चारकर्मीलाई उच्च मनोबलका साथ सकारात्मक सन्देश जाने समाचार मात्र सम्प्रेषणमा जिम्मेवार भएर लाग्न आग्रह गरेका हुन् ।
सरकारले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्दै विज्ञापनको समानुपातिक वितरण प्रणाली विकासको ठोस नीति बनाउनेतिर सरकार र मन्त्रालय नै प्रतिबद्ध रहेको जानकारी दिँदै मन्त्री बाँस्कोटाले सञ्चारको स्वतन्त्रता तथा स्वच्छन्दताको पनि मिहीन ढङ्गले अनुगमन एवं अध्ययन गरिने उद्घोषसमेत गरे । उनले सञ्चारमाध्यम र सञ्चारकर्मीले जिम्मेवार र मर्यादित बन्न जरुरी रहेको बताउँदै सामाजिक सञ्जाललाई पनि छाडा नछाडिनेतर्फ सरकार संवेदनशील भएको बताए।
मन्त्री बाँस्कोटाले अझै देशका धेरै भूभाग प्रविधिको पहुँचभन्दा बाहिर रहेकाले ती क्षेत्रमा प्रविधि विस्तार गर्दै जाने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए ।
अहिलेको सरकारले यस दशकलाई मुलुकको समृद्धि र निर्माण दशक बनाएर काम गर्ने अठोटका साथ काम गरेको बताए। मन्त्री बाँस्कोटाले अबको उद्देश्य भनेकै दुई ठूला छिमेकी मुलुक चीन र भारतसँग सहकार्य गरेर नेपाललाई पूर्वाधारसहितको विकासपथमा अघि बढाउने रहेको बताए ।