रसियामा विश्‍वकप नेपालमा अर्बौको सट्टेबाजी

| 2018 Jun 30 | 07:20 am 3788

काठमाडौं, असार १६: रसियामा जारी विश्‍वकपको पहिलो चरणका खेलहरु सकिँदा संसारभरका मानिसहरु टेलिभिजनमा खेल हेर्दै मन परेको टिम र खेलाडीलाई समर्थन गरेर रमाइलो लिइरहेका छन्। तर, कतिपयले विश्वकपलाई जुवा खेल्ने/खेलाउने मौकाका रूपमा पनि प्रयोग गरिरहेका छन् । नेपालमा पनि विश्वकपका खेलमाथि दैनिक एक अर्बभन्दा बढी रुपैयाँको बाजी लाग्ने गरेको छ।

काठमाडौं, ललितपुर, पोखरा, धरान, वीरगन्ज, विराटनगरजस्ता ठूला सहरमा सट्टेबाजी धन्दा चलिरहेको छ। सट्टेबाजीको सबैभन्दा ठूलो खाल काठमाडौंमै चलेको प्रहरीले जनाएको छ । यो जुवामा टोलेगुन्डा, क्यासिनो खेलाडीदेखि फुटबलका फ्यानसमेत संलग्‍न छन्।

रसिया विश्वकपका खेलअनुसार दैनिक एक अर्बभन्दा धेरैको बाजी लाग्ने गरेको छ। काठमाडौं, ललितपुर, पोखरा, धरान, वीरगन्ज, विराटनगरजस्ता सहरमा करोडौँको बाजी लाग्ने गरेको हो। काठमाडौंमा त टोलटोलसम्म सट्टेबाजको जालो पुगेको प्रहरी बताउँछन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले गल्लीगल्लीमा अहिले सट्टेबाजले बाजी लगाउने गरेको बताए। उनले भने, ‘हाम्रो जानकारीमा आएअनुसार जारी विश्वकप फुटबल खेलमा दैनिक अर्बौँ रुपैयाँको बाजी लाग्ने गरेको देखिन्छ।

टोलटोल, गल्लीगल्लीमा अहिले फुटबलकै चर्चा छ। हामीले केही सट्टेबाजलाई निगरानीमा राखेका छौँ। केही सूचना आएका छन्। त्यसमा अनुसन्धान पनि चलिरहेको छ।’

तीनजना डेढ करोडसहित पक्राउ

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले काठमाडौंबाट आइतबार दिक्पालजंग थापा, अमित महत र धर्म महर्जनलाई रंगेहात पक्राउ ग-यो।

प्रहरीका अनुसार उनीहरूले एउटै खेलमा बाजी लगाउन एक करोड ५५ लाख रुपैयाँ संकलन गरेका थिए। आइतबार राति इंग्ल्यान्ड र पानामाबीचको खेलका लागि उनीहरूले बाजी लगाएका थिए।

महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनीहरूले उक्त रकम आफ्नै ‘सर्कल’का साथीहरूबाट संकलन गरेका थिए । उनले भने, ‘उनीहरूले विश्वकप फुटबलमा बाजी लगाएको भेटियो । प्रमाणसहित उनीहरूलाई हामीले पक्राउ ग-यौँ ।’

बाजी लगाउने टोलेगुन्डा पनि पक्राउ

विश्वकप फुटबलका खेलमा बाजी खेलाएकै अभियोगमा प्रहरीले टोलेगुन्डा राजनकुमार भुजेललाई पनि प्रहरीले पक्राउ गरेको छ । शुक्रबार कालीमाटीबाट पक्राउ परेका उनी ज्यान मार्ने उद्योगका फरार प्रतिवादी हुन्।

राजधानीका क्यासिनोमा जुवा खेल्न जाने र उनीहरूलाई मिटरमा ब्याज लगाउनेहरू अहिले सट्टेबाजीमा संलग्न हुने गरेको खुलेको छ । क्यासिनोमा जुनसुकै वेला समातिने डरले उनीहरू फुटबल म्याचको सट्टेबाजीमा संलग्न भएको प्रहरी बताउँछ।

अपराध अनुसन्धान महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले भने, ‘पछिल्ला दिनमा जुवाडेहरू क्यासिनोमा जान बन्द गरेका छन्। उनीहरू फुटबलमै बाजी लगाउन थालेका छन् ।

यसमा प्रहरीबाट समातिने खतरा पनि कम भयो। जुवाको तलतल पनि मेटियो । त्यसैले उनीहरू यस धन्दामा संलग्न हुने गरेको देखिन्छ।’

साँझ ५ बजेबाट धन्दा सुरु, बिहान ८ बजेसम्म हिसाब क्लियर

महाशाखाका एसपी राठौरका अनुसार सट्टेबाजको धन्दा साँझ ५ बजेबाट सुरु हुन्छ । रातभर धन्दा चल्छ । बिहान ८ बजेसम्म हिसाबकिताब क्लियर हुन्छ । अनि मोबाइल स्विचअफ गरेर दिनभर सुत्छन्।

खेल पाँच बजेपछि सुरु हुने भएकाले सट्टेबाजको सक्रियता पनि त्यही वेलादेखि सुरु हुन्छ । रातभर खेल चल्ने भएकाले बाजी पनि रातभर चलिरहन्छ। खेल सकिएपछि हिसाबकिताब हुन्छ।

सट्टेबाजीका लागि उनीहरूले विशेषगरी भइबर र फेसबुक प्रयोग गर्छन् । प्रहरीबाट समातिने डरले हिसाबकिताब क्लियर भएलगत्तै भइबर र फेसबुकमार्फत लगाइएको बाजी डिलिट गर्छन्। नयाँ पत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.