चीनमा आगो निभाउने क्रममा १८ अग्‍नि नियन्त्रणकको मृत्यु

रिपोर्ट नेपाल | 2020 Mar 31 | 07:34 pm 2273

एजेन्सी, चैत १८: चीनको सिचुआन प्रान्तको जंगलमा लागेको आगो निभाउने क्रममा १८ अग्‍नि नियन्त्रणक र उनीहरुका गाइडको मृत्यु भएको छ ।

त्यसैगरी आगोले जलेर घाइते अवस्थामा भेटिएका तीनजनालाई उपचारका लागि अस्पताल लगिएको छ भने एकजना गाइडको रुपमा रहेका स्थानीय फार्म सञ्‍चालक हुन् ।

सिन्ह्वा न्युज एजेन्सीका अनुसार हावाको गतिमा आएको बेगले आगोको दिशा मोडिएपछि मंगलबार बिहान उनीहरुको मृत्यु भएको बताइएको छ । अहिले आगो चीनको लियाङसाङ प्रान्तको एक हजार हेक्टर क्षेत्रमा फैलिइरहेको छ । उक्त क्षेत्रमा दुई हजार अग्‍निनियन्त्रक र उद्धारकर्ताहरु पठाइएको छ । उक्त क्षेत्रबाट करिब १२ सय मानिसहरुको उद्धार गरिएको छ ।

स्थानीय फार्मबाट सोमबारदेखि आगो सुरु भएको थियो । तीव्र गतिमा चलेको हावाका कारण आगो नजिकैको जंगलतर्फ फैलिएको हो । स्थानीय मिडियाका अनुसार आगोको धुवाँको मुस्लो नजिकैको सिछाङ सहरतर्फ आइरहेको छ ।

गत वर्ष पनि यस क्षेत्रमा लागेको आगो निभाउनेक्रममा ३० जना अग्‍निनियन्त्रकको मृत्यु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.