बैतडी, चैत १७: जिल्लाको पुरचौँडी नगरपालिका वडा नं ७ का वडा अध्यक्षमाथि क्वारेन्टाइन स्थलमै कुटपिट भएको छ ।
गल्लेक मावि, बडगाउँको क्वारेन्टाइनमा आइतबार अपरान्ह करिब ४ बजेतिर स्थानीय ३६ वर्षीय धर्मानन्द बडुले वडाअध्यक्ष रामबहादुर ऐरमाथि कुटपिट गरेका हुन् ।
मदिरा खाएर क्वारेन्टाइनमा होहल्ला नगर्न भन्दै आग्रह गर्नासाथ आफूमाथि कुटपिट भएको वडा अध्यक्ष ऐरले जानकारी दिए ।
वडाअध्यक्षको स्थानीय स्वास्थ्य चौकी उपचार भइरहेको र कुटपिट गर्ने बडुलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, पुरघाटले जानकारी दिएको छ ।
यसअघि पनि पुरचौँडी ५ स्थित कुँवाकोटमा भारतबाट घर फर्केका स्थानीयलाइ क्वारेन्टाइनमा राखेको भन्दै एक स्वास्थ्यकर्मीमाथि पनि कुटपिट भएको थियो ।