उदयपुर, चैत १२: नेत्रज्योति संघ उदयपुरले मदन भण्डारी आँखा अस्पताललाई क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । निर्माण सम्पन्न भइसकेपछि सञ्चालनमा आउन नसकेको यस आँखा अस्पताललाई क्वारेन्टाइन बनाउने निर्णय गरिएको हो ।
भवन निर्माणको काम सकिएको भएतापनि अस्पताललाई सञ्चालनमा ल्याउन अझै केही समय लाग्ने भएकाले क्वारेनटाइन बनाउने निर्णय गरिएको अस्पतालका अध्यक्ष भागवत राउतले जानकारी दिनए । उनले प्रदेश सरकारलाई पत्राचारसमेत गरिसकिएको बताए ।
भवनको झ्यालमा आल्मुनियम हाल्न मात्र बाँकी रहेको र २ दिनभित्रमा त्यो काम पनि सकिने उनको भनाइ छ । राउतले त्यसलाई आइसोलेसन वार्ड समेत बनाउन सकिने बताए ।
नेत्र ज्योति संघ उदयपुरका सभापति समेत रहेका अध्यक्ष राउतले तीन तले अस्पतालको भवनमा ४२ वटा कोठा रहेको जानकारी दिए।
आइसोलेसन वार्ड बनाइएमा ५० जनासम्म बिरामी राखेर उपचार गर्न सकिने उनको भनाइ छ ।