पोखरा, १५ असार : पोखरामा अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि ५३ करोड छुट्टाएको छ । पोखरा रंगशाला भित्र निर्माण सुरु हुन लागेको फुटबल रंगशालाको लागि आर्थिक वर्ष ०७५र०७६ मा राष्ट्रिय खेलकुद परिषदले ५३ करोड छुट्टाएको हो ।
नेपालमा आयोजना हुने १३ औ दक्षिण एशियाली खेलकुद (साग)का लागि भन्दै करिब सात महिना अघि अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न परिषदले ग्लोबल टेण्डर आह्वान गरे पनि त्यो सम्भव हुन सकेको थिएन । परिषदले पुनः टेण्डर आह्वान गर्दै पोखरा रंगशाला निर्माण गर्न पहिलो चरणमा ५३ करोड बजेट विनियोजन गरेको छ ।
२२ हजार दर्शक क्षमताको रंगशाला निर्माण गर्न परिषदले करिब १ अर्ब भन्दा वढी नै लाग्ने अनुमान गरिसकेको छ । यद्यपी रंगशाला निर्माणका लागि परिषदले दोश्रो पटक टेण्डर आह्वान गरिसकेको छ । उक्त ग्लोबल टेण्डर भने अबको केही दिन पछि खुल्ने छ ।