रौतहट, चैत ८: सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी (विप्लव) समूहका रौतहट इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहट जिल्ला इन्चार्ज (संकेत) भन्ने मान कुमार राई र जिल्ला सदस्य (जगत) भन्ने कमल गुरुङ रहेका छन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले शुक्रबारा राति पक्राउ गरेको जानकारी दिएको छ ।
इप्रका चन्द्रनिगाहपुरबाट गएको टोलीले उनीहरुलाई राति ११ बजे रौतहट र मकवानपुरको सीममा पर्ने चन्द्रपुर नगरपालिका वडा नम्बर ३ को महादेव डाँडास्थित अल्जाजोराबाट पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट एक थान नलकटुव पेस्तोल र ग्रिनेट बरामद गरेको डिएसपी हेमबहादुर शाहीले जानकारी दिए ।
यसअघि इप्रका चन्द्रनिगाहपुरबाट खटिएको टोलीले रौतहट जिल्ला सेक्रेटरी सृजना शाही र जिल्ला समिति सदस्य दुर्गा बललाई पक्राउ गरेको थियो ।