काठमाडौं, चैत ७: कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिएपछि काठमाडौं उपत्यकाबाट प्रकाशन हुने साप्ताहिक पत्रिकाहरूको प्रकाशन स्थगन गरिएको छ ।
सप्ताहिक अखबारका सम्पादक प्रकाशकहरूको ७ चैत काठमाडौंमा भएको बैठकले केही समयका लागि पत्रिका प्रकाशन स्थगित गर्ने निर्णय गरेको हो । छापामाध्यमलाई केही समय स्थगित गरे पनि अनलाइन संस्करण भने चालु रहने सम्पादकहरूले जनाएका छन् ।
साप्ताहिक पत्रिकाका सम्पादकहरूद्वारा संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ‘विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)का कारण मानव सभ्यता र विकासलाई नै चुनौती पुगेको हामीले ठानेका छौँ । रोगको उपचार–पहिचान भइनसकेको यस घडीमा सचेततापूर्वक होसियार रहनुको विकल्प नरहेको र नेपाल सरकारले समेत सचेतनाका निम्ति आवश्यक निर्देशिका जारी गरेको सन्दर्भमा हामी पत्रकार तथा सञ्चारकर्मीले पनि समस्यालाई गम्भीरतापूर्वक लिएका छौँ । त्यसैले हाम्रा प्रकाशनहरूको अनलाइन संस्करण यथावत राख्दै छापामाध्यमलाई केही समय स्थगित गर्ने निर्णय लिएका छौँ । स्थिति सामान्य भएसँगै हाम्रो छापा प्रकाशनले निरन्तरता पाउने जानकारी गराउँछौँ ।’
साप्ताहिक पत्रिकाका सम्पादकरप्रकाशकहरूको तर्फबाट देवप्रकाश त्रिपाठी र शम्भु श्रेष्ठद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ– ‘यस बाध्यात्मक निर्णयबाट आमपाठक, विज्ञापनदाता र शुभेच्छुकहरूमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ । विपत्तिको यो घडीमा हामी सम्पूर्ण देशवासी दाजूभाइ–दिदीबहिनहिरूको सुस्वास्थ्य तथा सुरक्षित जीवनको कामना गर्दै मानव सभ्यता विकासक्रमको शीघ्रातिशीघ्र लय बहाल हुने विश्वास गर्दछौँ ।’
‘नेपाल अहिलेसम्म महामारीको प्रत्यक्ष असरबाट जोगिएको छ र यही अवस्था कायम रहन पनि हामी सचेत एवम् होसियार रहनु पर्नेतर्फ सबै देशवासीहरूको ध्यानाकर्षण गराउन चाहन्छौँ । हाम्रो अनलाइन संस्करण यथावत सुचारु रहने ब्यहोरा पुनः स्मरण गराउँदछौँ । केही समयका निम्ति छापा प्रकाशनको स्थगनका कारण सूचना सम्प्रेषणमा पुग्न गएको अवरोधका निम्ति क्षमाप्रार्थी छौँ ।’ घटना र विचार