ट्राफिक प्रहरीको विशेष अप्रेशनः वढी भाडा लिने ९ जना पक्राउ

| 2020 Mar 20 | 06:21 pm 1372

काठमाडौं, चैत ७: महानगरीय ट्राफिक प्रहरी महाशाखाले विषम परिस्थितिको फाईदा उठाई सार्वजनिक बसहरूमा बढी भाडा लिने ९ जना व्यक्तिहरूलाई पक्राउ गरेको छ ।

ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेमा लालकाजि घिसिङ, दिपक तामाङ, श्याम थापा मगर, नरेश लामिछाने, दिल बहादुर भण्डारी, भुवन लामा, राजेन्द्र थापा, संगम दुत्त मग्रान्ती र सुव्वा बोहरा रहेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सादा पोशाकमै प्रहरी खटाएर बढी भाडा लिने विरुद्ध
कारवाही चलाएको जानकारी दिए ।

उनले यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको तर प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाई तुरून्तै कारवाही गर्ने बताए ।

प्रहरीले आफैँ यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिएर कारवाही गर्ने र प्यासेञ्जर बस्ने लाइनमा बसेर फलानो ठाउँ जाने भनी टिकट मागेर अडियो भिडियो रेकर्ड गरी उनीहरुलाई कारवाहीको दायरामा ल्याउने गरेको छ ।

यसका लागि ट्राफिक प्रहरीले पीडित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरेको छ ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले सर्वसाधारणको रुपमा यात्रु बनेर बढी भाडा लिनेलाई पक्राउ गर्ने गरिएको बताए ।

उनीहरुले गाडी चढ्न अघि कतिपय यात्रुलाई कन्भिन्स गरेर पैसा ठग्ने गरेको र कतिपयलाई बढी भाडा नतिरे नलैजाने गरेको पाइएको छ।

पक्राउ पर्ने व्यक्तिहरूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा बुझाएको छ ।

विश्वव्यापी रूपमा फैलिदै गएको कोभिड – १९ भाईरस संक्रमणबाट बच्न सतर्कता अपनाउदै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सेवाहरू प्रदान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.