काठमाडौं, चैत ७: पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा कैलाली स्थायी घर भएका लक्ष्मण सेठी, अमृत कुमाल क्षेत्री र कालिकोटका टेक विक (अभिषेक) रहेका छन्।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार उनीहरुलाई प्रहरीले राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेको बताए। पक्राउ परेका क्षेत्री मध्य कमाण्ड ब्यूरो हुन् भने सेठी अभिषेक साधारण सदस्य हुन्।
त्यस्तै उनीहरूको साथबाट प्रहरीले एक थाना मोटरसाइकल समेत बरामद गरेको छ।
गत फागुन २८ गते पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट भएको थियो । विस्फोटमा संलग्न भएको आरोपमा सोही दिन देवी बहादुर गुरुङलाई पक्राउ गरेको थियो । उनी विप्लव समूहको भक्तपुर जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ ।
बाँस्कोटाको भक्तपुरको जडिबुटीस्थित नवनिर्मित घरमा प्रेसर कुकर बम बिस्फोट भएको थियो । विप्लव नेकपाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घोटलामा संलग्न भएको सहित १० कारणले घरमा बम हान्नु परेको जनाएको छ ।
उक्त बम बिस्फोटबाट एउटा मारुती कार पूर्ण क्षतिग्रस्त भएको थियो। मन्त्री बाँस्कोटा निवाससँगै रहेका अन्य घरमा समेत सामान्य क्षति भएको थियो ।