मोरङ, चैत ५: जिल्लाको वीराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको नम्बर १ ढाटबाट मंगलबार एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको बेलवारी नगरपालिका ४ का २१ वर्षीय विपिन क्षेत्री रहेका छन् ।
उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गुल्म मोरङबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
एपीएफ टोलीले क्षेत्रीलाई शंका लागि जाँच गर्दा उनको साथमा फेनारगन ४ एम्पुल, डाईजाल्याव ४० एम्पुल, लुपिजेसिक ४० एम्पुल र एभिल ४० एम्पुल फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले उनको साथबाट एउटा मोवाईल सेट समेत बरामद गरेको छ ।
पक्राउ परेका क्षेत्रीलाई एपीएफ टोलीले बरामद लागूऔषध तथा उक्त मोवाईल सेटसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
एपीएफ टोलीद्वारा चोरीनिकासी तथा पैठारीको सामान बरामद
झापा जिल्लाको मेचीनगर नगरपालिका ६ सतिघरबाट बुधबार एपीएफ टोलीले करीव पाँच लाख ५५ हजार रुपैयाँ बराबरको चोरीनिकासीको सामान बरामद गरेको छ ।
नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको सुपारी, छोकडा र विभिन्न किसिमका औषधी सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले बरामद सामान मेची भन्सार कार्यालय काकडभिट्टामा बुझाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ५६ गुल्म कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले बुधबार करीव दुई लाख ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान एपीएफ टोलीले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका १० स्थित भुजेलाबाट बरामद गरेको हो ।
बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।