काठमाडौं, चैत ४: प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि मङ्गलबार प्रदेशसभामा मतदान हुँदैछ । नाम र राजधानीका लागि प्रदेशसभाका सांसदले गोप्य मतदान गर्ने र त्यसअघि छलफल गर्ने तयारी रहेको प्रदेश २ का सभामुख सरोजकुमार यादवले जानकारी दिए ।
सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम मधेश राख्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् । यस्तै नेकपाले प्रदेशको नाम जानकी राख्नुपर्ने प्रस्ताव गरेको छ भने काङ्ग्रेसले मिथिला राख्नुपर्ने प्रस्ताव दर्ता गराएको छ ।
प्रदेशको राजधानी भने जनकपुरधामलाई बनाउनुपर्नेमा सबै दलको सहमति छ । यद्यपि वीरगञ्ज आसपासका केही सांसदले वीरगञ्जलाई राजधानी बनाउनुपर्ने प्रस्ताव दर्ता गराएका छन् । नाम र राजधानी तोक्न दुई तिहाइ बहुमत आवश्यक भए पनि यो कुनै दलसँग छैन ।
यसअघि नाम र राजधानी सहमतिमै टुङ्गो लगाउन र प्रस्तावमाथि छलफल गर्न सभामुख सरोजकुमार यादवको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिए पनि दलहरुबीच सहमति हुन नसक्दा मतदान हुन लागेको हो ।