म्याग्दी, चैत ३: जिल्लाको मालिका गाउँपालिका–६ रातोढुङ्गामा अज्ञात समूहले स्काभेटर र ब्याकुहोलोडरमा आगजनी गरेको छ।
खण्डको सडक स्तरोन्नतिमा प्रयोग गरेको क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटा–दरवाङ ती सामग्रीमा गएराती आगजनी भएको प्रहरीले जानकारी दिएको हो।
आगजनीबाट ब्याकुहोलाडरको सबै भाग जलेर नष्ट भएको र स्काभेटरको आधा भाग जलेपछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक रामचन्द्र अधिकारीले जानकारी दिए।
उक्त आगो प्रहरी, जनप्रतिनिधि र निर्माण कम्पनीका प्रतिनिधिले नियन्त्रणमा लिएका थिए। आगजनी कसले के कारणले गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रनि अधिकारले बताए।
कम्पनीका सञ्चालक सोमनाथ थकालीका अनुसार सडकको नजिकै पार्किङ गरेका निर्माण उपकरण आगजनी भएको बताए ।
आगजनीबाट एक करोड रूपैयाँभन्दा बढीको क्षति भएको संचालक थकालीले जनाए।
यसअघि गत साउनमा बेनी नगरपालिका–५ बगुवाखोलामा बिएन कन्ट्रक्सनका तीन वटा स्काभेटरमा अज्ञात समूहले आगजनी गरेका थिए।