सिटिइभिटी र नेपाली सेनाबीच समझदारी पत्रमा हस्ताक्षर

रिपोर्ट नेपाल | 2020 Mar 15 | 08:39 pm 1912

काठमाडौं, चैत २: नेपाली सेनामा डिप्लोमा इन मेकानिकल र डिप्लोमा इन अटो मोबाइल इन्जिनियरिङ कोटा ४८/४८ संचालनको लागि नेपाली सेना र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटीका सदस्य सचिव डा पुष्प रमण वाग्ले र नेपाली सेनाको तर्फबाट विद्युत तथा यान्त्रिक निर्देशनालयका प्राविधिक सहायक रथी भोलानाथ बुढाथोकीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रधानसेनापतिको कमाण्ड मार्ग निर्देशन २०७५ को लक्ष्य नं ५ मा उल्लेख भए बमोजिम नेपाली सेनामा कार्यरत प्राविधिक तथा ट्रेडतर्फको दक्ष जनशक्तिको कार्य क्षमता वृद्धि गर्ने उद्देश्य अनुरुप प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटीबाट सम्वन्धन प्राप्त भए पश्चात उक्त शैक्षिक कार्यक्रम भक्तपुर खरिपाटीस्थित नेपाली सेनाको विद्युत तथा यान्त्रिक शिक्षालयमा संचालन गरिने बताइएकोछ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटी सानोठिमी भक्तपुरमा आयोजित उक्त समझदारी पत्र हस्ताक्षर कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, व्यावसायिक तालिम परिषद सििटइभिटीका सदस्य सचिव तथा अन्य पदाधिकारीहरु लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

नेपाली सेनामा पहिलो पटक संचालन भएको यस प्रकारको शैक्षिक कार्यक्रमले मध्यम स्तरको दक्ष प्राविधिक जनशक्तिको उत्पादन भई नेपाली सेना तथा समग्र राष्ट्रको प्राविधिक जनशक्तिको आवश्यकता पूर्ति हुनुको साथै नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपालीको अवधारणामा समेत थप टेवा पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.