धनुषा, फागुन २८: जिल्लाको विदेह नगरपालिका १ ढाला चोकबाट मंगलबारएपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँका २६ वर्षीय राजेश मण्डल र २८ वर्षीय राजेशकुमार चौधरी रहेका छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मैनाथपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
ज ९ प ६६४६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई एपीएफ टोलीले शंका लागि चेकजाँच गर्दा उनीहरुको साथमा कोडिन फोस्फेट १४ बोतल, नाईट्राभेट ट्याब्लेट ६० वटा र स्पामो प्रोक्सिभन ट्याब्लेट १५ वटा फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।
एपीएफ टोलीद्वारा पक्राउ दुई जना, बरामद लागूऔषध र मोटरसाईलकसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अमरपट्टिबाट खटिएको एपीएफ टोलीले पर्सा जिल्लाको विन्दावासीनी गाउँपालिका ३ झौवाबाट बुधबार करीव दुई किलो दुई सय ५० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सागढी नगरपालिका ४ का ४५ वर्षीय देवेन्द्र यादव रहेका छन् ।
एपीएफ टोलीले पक्राउ परेका निज यादवलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।