बाँके, फागुन २८: कोहलपुर नगरपालिका–८ पिपरीचोक नजिकै टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कोहलपुर–९ की ४५ वर्षीया रामपति थारू रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।
झण्डहवागाउँदेखि कोहलपुर–नेपालगञ्ज सडकतर्फ आइरहेको रा १ ख २१८८ नम्बरको टिपरले बुधबार साइकलमा सवार उनीलाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएकी थारूलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको थियो। मृतक तरकारी व्यवसायी रहेको खुलेको छ। ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।
दुर्घटनाको विरोधमा स्थानीयवासीले घटनास्थलमा सडक अवरुद्ध गरेका कारण कोहलपुर–नेपालगञ्ज सडकखण्डमा सवारी आवागमन बन्द छ। दुर्घटनालगत्तै घटनास्थल पुगेर मृतकका श्रीमान् र आफन्तलाई खोजी शान्ति सुरक्षा कायम गर्ने काम भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए।