भक्तपुर, फागुन २८: निर्वतमान संचारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर स्थित घरमामा बम विस्फोट भएको छ ।
मध्यपुर ठिमी नगरपालिका १ मनोहरा फाँटमा रहेको बाँस्कोटाको घरमा बुधबार बिहान पौने ८ बजे ठूलो आवाजसहित विस्फोट भएको हो।
विस्फोबाट घरको सिसाहरु फुटेका छन् । विस्फोटबाट छिमेकीको घरहरुमा समेत क्षती भएको बताइएको छ ।
विस्फोट स्थलमा यत्तिखेर सर्वसाधरणहरुको भिड लागेको छ । विस्फोट कस्ले गराएको हो खुलिसकेको छैन ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार ठूलो आवाजसहित भएको विस्फोटबाट बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको मारुती भ्यान क्षतिग्रस्त भएको छ।
बम विस्फोटबाट बाँस्कोटाका छिमेकीहरु कुबेर केसी र कपिल घिमिरेको घरमा पनि क्षति पुगेको छ।
बाँस्कोटाको घर क्षेत्रमा मंगलबार दिनभर प्रहरीले गस्ती गरेको थियो। तर बुधबार बिहानै प्रहरीको गस्ती नभएको मौका पारेर बम विस्फोट गराइएको हो।
सेक्युरिटी प्रिन्टर खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका बेला तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग ७० करोड रुपैयाँ कमिशनकाण्डमा मुछिएपछि राजीनामा दिएका थिए।