७१ चिनियाँ कामदार सेल्फ क्वारेन्टाइनमा

रिपोर्ट नेपाल | 2020 Mar 11 | 07:32 am 1484

कास्की, फागुन २८: निर्माणाधीन पोखराको क्षेत्रीय विमानस्थलमा कार्यरत ७१ चिनियाँ कामदारलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । विमानस्थलमा हाल १ सय ९० चिनियाँ कामदार कार्यरत छन् ।

क्वारेन्टाइनमा राखिएका ७१ कामदार केही पुराना र केही नयाँ कामदार रहेको विमानस्थल प्रमुख विनेश मुनाकर्मीले जानकारी दिए। कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य सतर्कतालाई विशेष ध्यान दिएको र स्वयं कामदार पनि स्वास्थ्यप्रति सचेत रहेकाले नेपाल आएपछि पनि थप १० दिन सेल्फ क्वारेन्टाइन बस्ने गरेको उनले जानकारी दिए ।

प्रमुख मुनाकर्मीले भने, “चीनबाट आउनुभएका नयाँ पुराना कामदार त्यहाँ पनि १४ दिन क्वारेन्टाइनमा बसेर र हेल्थ सर्टिफिकेट लिएर आउनुभएको छ । नेपाल आएपछि पनि सेल्फ क्वारेन्टाइनमा बसेर काममा फर्कनुहुन्छ ।” यसअघि पनि ३६ चिनियाँ कामदार सेल्फ क्वारेन्टाइनमा बसेर काममा फर्किएको र अहिले ७१ पनि त्यसरीनै सेल्फ क्वारेन्टाइनपछि काममा फर्केने उनको भनाइ छ । उनीहरु यही फागुन २१, २२, २३ गते चीनबाट नेपाल आएका थिए ।

सन् २०२१ जुलाईमा सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त विमानस्थलको हाल ५५ प्रतिशत काम सम्पन्न भएको प्रमुख मुनाकर्मीले जानकारी दिए । सम्पन्न मितिको छ महिनाअगावै ९५ प्रतिशत मुख्य काम सकिने उनले बताए ।

हाल निर्माणाधीन विमानस्थलमा क्वारेन्टाइनमा राखिएकाबाहेक १ सय ९० चिनियाँ र २ सय ८० नेपाली कार्यरत छन् । हाल देखिएको कोरोना सङ्क्रमणका कारण एक महिना राम्रोसँग काम हुन नसकेको उनको भनाइ छ । गोरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.