काठमाडौं, फागुन २७: गएराति तारकेश्वर नगरपालिका–४, पुरानो गुहेश्वरीमा श्रीमतीले श्रीमानलाई तेजाब प्रहार गरेकी छन् ।
२४ वर्षीय रामराजा थापामाथि तेजाव प्रहार भएको हो । प्रहरीका अनुसार तेजाव प्रहार उनकै श्रीमती प्रतिमा थापाको संलग्न रहेको आशंका गरिएको छ । सोही आधारमा श्रीमती प्रतिमालाई पक्राउ गरिएको बताइएको छ ।
तेजाव प्रहारबाट घाइते थापाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । उनको मुख र हातमा तेजाव लागेको प्रहरीले जानकारी दिएको छ ।
झ्याल ढोका बन्द भएकाले घरभित्रैबाट आक्रमण भएको आशंका गरिएको महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी रञ्जितसिंह राठौरले बताए । उक्त घटनाको अनुसन्धान अगाडि बढाइसकेको डिएसपी राठौरले जानकारी दिए ।
सोधपुछका क्रममा थापाले पनि प्रतिमाले नै तेजाब हानेको प्रहरी समक्ष बताएका छन् ।
अनुसन्धानमा जानकारी पाए अनुसार थापा दम्पतीबीच पटक–पटक झगडा हुने गरेको पाइएको बताएको छ ।