काठमाडौं, फागुन २७: मंगलबार बिहान सभामुख अग्निप्रसाद सापकोटासँग भारतीय राजदूत विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन्।
सभामुख सापकोटासँग भारतीय राजदूत क्वात्राले सिंहदरबारस्थित कार्यकक्षमा भेट गरेका हुन्।
उक्त भेटवार्तामा दुई देशको सम्बन्धकाबारेमा कुराकानी भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए।
भेटमा सभामुख सापकोटाले भारत नेपालको असल छिमेकी भएको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध प्राकृतिक भएको बताए।
सापकोटाले भूकम्पपछि नेपाललाई भारतले गरेको सहयोगको प्रशंसासमेत गरेका थिए।
त्यसैगरी विश्वभर फैलिरहेको कोरोना भाइरसविरुद्ध लड्न पनि भारतले सहयोग गर्ने अपेक्षासमेत सापकोटाले गरे।
दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्नेमा दुवैजनाले जोड दिएका थिए।