रौतहट, फागुन २५: रोकी राखेको ट्रकमा अर्को ट्रक ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषा जिल्ला शहिद नगरपालिकाका अन्दाजी २० वर्षीय मनोज कुमार यादव रहेका छन् ।
उक्त दुर्घटना पूर्व–पश्चिम लोकमार्गको चन्द्रनिगाहपुर– बागमती सडक खण्डमा भएको प्रहरीले जानकारी दिएको छ ।
मृतक यादवको शव ट्रकको स्टेरिङ च्यापिएको अवस्थामा निकालिएको थियो । सो सडक खण्डको चन्द्रपुर १ स्थित पौराइ जंगलमा टायर पञ्चर भएर मर्मत गर्न रोकिरहेको ना ६ ख ७०१३ मालबाहक ट्रकलाई सोही दिशाबाट आइरहेको ना ६ ख ३८२२ अर्को ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु भएका ठक्कर दिने ना ६ ख ३८२२ को ट्रकका सहचालक रहेको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका निमित्त प्रमुख प्रहरी निरिक्षक राजन थापाले जानकारी दिए ।
सो ट्रक सहचालक यादवले नै चलाएको र ट्रकका चालक धनुषा जिल्ला गणेशमान चारनाथ नगरपालिका १ का श्यामसुन्दर यादव गम्भीर घाइते भएको उनले बताए ।
घाइते यादवको खुट्टा भाँचिएको र उपचारको लागि वीरगंज रेफर गरिएको प्रनि थापाले जानकारी दिए ।
मृतक यादवको शव पोष्टमार्टमको लागी चन्द्रनिगाहपुर सरकारी अस्पतालमा राखिएको र उनीसँग सवारीचालक अनुमतिपत्र रहेको नरहेको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।